मूल्य वृद्धि नहुने गरी आपुर्ती व्यवस्था सहज बनाउन उद्योगमन्त्रीको निर्देशन, सहयोग गर्ने निजी क्षेत्रकाे प्रतिबद्धता


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले खाद्य पदार्थको मूल्य वृद्धि नहुने गरी मुलुकको आपुर्ती व्यवस्था सहज बनाउन निर्देशन दिएका छन ।

बुधबार मन्त्रालयमा भएको ‘मुलुकको आपूर्ती व्यवस्थाको समिक्षा सहित आपूर्ती व्यवस्था सहज र नियमित बनाउने सम्बन्धि’ छलफल कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् । आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने मन्त्री रिजालले स्पष्ट पारे ।

आपूर्तिसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरु सजग रही आपूर्ति श्रृंखलामा कुनै कमी कमजोरी हुन नदिन सबैले आ आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न निर्देशन दिदैँ मन्त्री रिजालले मन्त्रालयको तर्फबाट अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सबै प्रकारको सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

छलफल कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारीहरु र आपूर्ति क्षेत्रसँग सम्बद्ध सार्वजनिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, वस्तुगत संघहरु लगायतका निजी क्षेत्रका प्रतिनिधिहरुको समेत छलफल कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपुर्ती व्यवस्था सहज र व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।

त्यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको मौज्दात पर्याप्त रहेको बताउदै तत्कालै खाद्यान्न अभावको अवस्था सिर्जना नहुने र अनुचित मूल्य बृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने धारणा समेत निजी क्षेत्रका प्रतिनिधिहरुले राखेका थिए ।