गत वर्षको राजस्व सङ्कलन लक्ष्यभन्दा २८ प्रतिशत कम


काठमाडौं । वितेको आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्यभन्दा २८ प्रतिशत राजस्व कम सङ्कलन भएको अर्थमन्त्रालयले स्वीकार गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा जम्मा १० खर्ब १० अर्ब ३९ करोड रूपैयाँ मात्र राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा सरकारले ३१ प्रतिशतको राजस्व वृद्धिदरको महत्वाकांक्षी लक्ष्य राखेकोमा उल्टै ५.४ प्रतिशतले राजस्व सङ्कलन ऋणात्मक भएको छ । कुल लक्ष्यको तुलनामा भन्सार राजस्व ४५ प्रतिशत कम उठेको छ । सरकारले भन्सारबाट ३ खर्ब ३० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल १ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षका तुलनामा भन्सार २४.५० प्रतिशतले घटेको हो ।

सरकारले सुरुमा विलासिताका वस्तु भन्दै विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, सत प्रतिशत मार्जिन लगायतका व्यवस्थाले भन्सार सङ्कुचित भएको हो ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) पनि लक्ष्यभन्दा २५ प्रतिशत कम उठेको छ । भ्याटबाट ३ खर्ब ९४ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षका तुलनामा भ्याट झन्डै ९ प्रतिशतले घटेको छ ।

यसैगरी, अन्तःशुल्क लक्ष्यभन्दा झन्डै ४४ प्रतिशत कम उठेको छ । अन्तःशुल्कबाट २ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल १ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षका तुलनामा अन्तःशुल्क १४.२१ प्रतिशतले घटेको छ ।

यसरी नै आयकर पनि लक्ष्यभन्दा २८ प्रतिशत कम उठेको छ । आयकरबाट ३ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल २ खर्ब ५१ ८१करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षका तुलनामा आयकर ३ प्रतिशतले घटेको छ ।

आन्तरिक उत्पादन, बिक्री र सेवाबाट प्राप्त हुने भ्याट तथा आन्तरिक उत्पादनबाट प्राप्त हुने अन्तःशुल्क र आयकरको असुली घट्नु भनेको आन्तरिक अर्थतन्त्रमा शिथिलता आएको संकेत हो ।

गत वर्ष सरकारले करतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ अर्थात् लक्ष्यको ६६.८२ प्रतिशतमात्र, गैर-करतर्फ १ खर्ब ७ अर्ब ७७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९१ अर्ब ५३ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८४ प्रतिशत संकलन गरेको अर्थमन्त्रालयको विवरणमा छ ।

कुल‌ राजस्व संकलन लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ रहेकोमा कर र गैरकरबाट ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँमात्र भएपछि सरकारले अन्य प्राप्तिबाट ५२ अर्ब २४ करोड रुपैयाँ उपयोग गरेको छ ।