झापामा चिया मजदुरको आन्दोलन चर्कियो,बगान बन्द गर्ने चेतावनी


प्रवीण अधिकारी

झापा । समस्या समाधानको माग गर्दै चिया मजदुरहरूले फेरि आन्दोलन चर्काएका छन् ।

झापाका विभिन्न बगानमा कार्यरत मजदुर र सञ्चालकबिच असमझदारी बढ्दै गएपछि सबै मजदुरहरू सडक आन्दोलन गरिरहेका छन् ।

सरकारले बनाएको कानुनको बगान सञ्चालकहरूले उल्लङ्घन गरेको, सरकारले तोकेको न्युनतम पारिश्रमिकता समेत नदिएको , श्रमको शोषण गरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका हुन् । श्रम ऐन २०७४ तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

काकडभिट्टाको इलाका प्रहरी कार्यालय अगाडि भेला भएर मजदुरहरूले सडकमा विभिन्न नाराबाजी सहित कोण सभामा गरेका छन् ।

सञ्चालकले गरिब मजदुरहरूको आवाज नसुनेको भन्दै सडकमा उत्रन बाध्य भएको उनीहरूको भनाई थियो ।

विभिन्न बगानमा कार्यरत मजदुरहरूले सडकमा प्रदर्शन गर्दै न्युनतम पारिश्रामिक वृद्धि ग, ‘पत्ति डबली वृद्धि गर, रोजगार सम्झौता लागु गर, श्रम शोषण बन्द गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर लगायतका नारा लगाएका थिए ।

“विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक नबढेको र पटकपटक यस विषयमा छलफल गर्दा समेत बगान मालिक र सरकारले बेवास्ता गरेका कारण यो आन्दोलनमा उत्रनु पर्‍यो,” अखिल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाले भने ।

मजदुरहरूले कुनै ठुलो अपेक्षा राखेर आन्दोलन नगरेको बताउँदै सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने , सरकारले तोकेको पारिश्रमिकता पाउनुपर्ने माग रहेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

मजदुरहरूको आन्दोलनलाई बेवास्ता गरे भदौ ७ गतेदेखि सबै बगान ठप्प पार्ने समेत उनले चेतावनी दिए ।

अहिले चिया मजदुरहरूले दैनिक ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएको र उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्ने मजदुर नेता दिपक तामाङले बताए ।

पटकपटक भएको छलफल बिना निष्कर्ष टुंगिएको र मजदुरहरूको आवाज नसुनेका कारण सडकमा उत्रिएको अधिकांश मजदुर नेताहरूको दाबी छ ।

भदौ ७ गतेसम्म मजदुरहरूको समस्या समाधान नभएदेखि देशभरका चिया बगान बन्द गर्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।