ग्लोबल आइएमई बैंकको नाफा ४६ प्रतिशतले बढ्यो


काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४६.२६ प्रतिशतले नाफा वृद्धि गरेको हो।

बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकको नाफा वृद्धि भएको देखाएको हो । गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षमा १७ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ।

गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षमा खराब कर्जा १.२८ प्रतिशत मात्र रहेको थियो। बैंकको प्रति सेयर आम्दानी घटेको छ। बैंकको प्रति शेयर आम्दानी २०.७७ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको वर्ष प्रति शेयर आम्दानी २०.८४ रुपैयाँ थियो ।

बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ ।