भुक्तानी नगरेसम्म आन्दोलन जारी राख्ने निर्माण व्यवसायीहरूको चेतावनी


काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

दोस्रो चरणको आन्दोलनको अन्तिम दिन आज उनीहरूले संसद भवन अगाडि बिरोध प्रदर्शन गर्दै निर्माण व्यवसायीहरूका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बिरोध कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै अब तेस्रो चरणको आन्दोलन शुरु गर्ने चेतावनी दिए ।

उनले व्यवसायीहरूको सही प्रश्न उठाएका छन् भन्ने जानकारी हुँदासमेत सरकार बेखबर भएको आरोप लगाए । सरकारले विकास निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम गरेको अध्यक्ष सिंहले आरोप लगाए ।

सरकारले समयमा नै निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसक्ने हो भने जनतालाई आवश्यक विकास निर्माणका काम मात्रै शुरु गर्नुपर्ने उनको भनाई थियो । अध्यक्ष सिंहले राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग गरे ।

उनले भने,“सरकार आँखा चिम्लेर बसिरहेको छ । हामी निरन्तर रुपमा आन्दोलन गरिरहेका छौँ । आज दोस्रो चरणको अन्तिम दिन हो । जनतालाई अति आवश्यक पर्ने आयोजनामात्रै म्याद थप गर्ने र क्षमताले भ्याउने आयोजना मात्रै बनाउने र निर्माण व्यवसायीले दिएको सुझाव ग्रहण गरेर अघि बढ्नुपर्छ । सरकारले उपभोक्ता समिति खारेज गर्नुपर्छ ।”

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुर्ने,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन् ।