भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ: अर्थमन्त्री डा. महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन्। भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता कर्मचारीहरुले परिवर्तन गर्नुपर्ने उनले बताएका छन् ।

आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । “मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ,” उनले भने, “राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ ।”

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले उल्लेख गरे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने,“त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।”

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने उनले बताए । “लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन” मन्त्री डा. महतले भने,“कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।”

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी भन्सार राजस्व उठाउन सकिने उनले बताए । उहाँले भने, “जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।