भुक्तानीसहित ९ बुँदे माग राखेर सडक विभागमा निर्माण व्यवसायीको धर्ना


ललितपुर । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरूले आज पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरूले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरूका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताए । सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने उनले चेतावनी दिए ।

अध्यक्ष सिंहले भने,“आज हाम्रो आन्दोलनको १६ औं दिन हामी सडक विभागमा धर्नामा छौँ । हामीलाई जुन तालाबन्दी गर्ने अधिकार छ, त्यो अधिकारबाट पनि यो गणतान्त्रिक सरकारले हामीलाई वञ्चित गरेको छ । सडकमै बस्न बाध्य भएका छौँ । सरकारले रोक लगाउँछ र गेटसम्म पनि पनि बन्द गर्न नदिए सडक नै जाम गर्न बाध्य हुनेछौँ ।”

सरकार निर्माण व्यवसायीहरूको भुक्तानी नदिने र निर्माण व्यवसायीहरूले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काममा उद्धत भएको आरोप अध्यक्ष सिंहको भनाई थियो ।

सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरू खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी दिए ।

अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गर्न आग्रह गरे ।

उनले भने,“बिना बजेटका टेण्डर निकालेर हामी निर्माण व्यवसायीहरूलाई ट्रयापमा पार्ने काम गर्नुभएको छ । निर्माण व्यवसायीले काम गर्दैनन् भन्ने पारिएको छ । यसलाई चिर्नपनि आन्दोलित छौँ ।”