विमानस्थलबाट पक्राउ गरिएको सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालियो


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर आज जोख्न थालेको हो ।

राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरु गरेको बताए ।

उनले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रिय प्रतिनिधी र राजश्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताए । उनले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताए ।

एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको उनको भनाई थियो ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ ।

सुन छुट्याइ सकेपछि सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ ।