काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले करिब ४६ लाख २७ हजार रुपैयाँ बराबरको अवैध मुद्रा सहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ३२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई नियमित सुरक्षा जाँचका क्रममा गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा उनको साथबाट नेपाली रुपैयाँ ११ लाख ५६ हजार, चिनियाँ युआन ५२ हजार ७९० (करिब ११ लाख १८ हजार ६९६ रुपैयाँ), अमेरिकी डलर ५ हजार ९६५ (करिब ८ लाख १८ हजार ४९१ रुपैयाँ), हङकङ डलर ४९ हजार ९९० (करिब ९ लाख ८० हजार ८१ रुपैयाँ), युरो २ हजार ६० (करिब ३ लाख ४६ हजार ७३१ रुपैयाँ) तथा अष्ट्रेलियन डलर ५० (करिब ५ हजार ३६६ रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद मुद्राको स्रोत र प्रयोजनबारे थप अनुसन्धान आवश्यक देखिएकाले सुओलाङलाई बरामद मुद्रासहित थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्