सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छ: अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत निर्माण व्यवसायीको जायज समस्या समाधान गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका हुन् ।

हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए ।

“कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाडैं काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ,” अर्थमन्त्री महतले भने ।

निर्माण व्यवसायीको चाँसो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो भुक्तानी हुने स्पष्ट पारे । “हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ । हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं,” महतले भने, “बिल उठाएका सबै भुक्तानी हुन्छ । सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो ।”

हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन पनि अर्थमन्त्री महतले निर्माण व्यवसायीसँग आग्रह गरेका छन् । “सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ”, महतले भने,“मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं तर बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले बिल उठाउनुपर्‍यो ।”

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने पनि अर्थमन्त्री महतको भनाइ छ ।

“अब यो च्याप्टर बन्द गरौं । नयाँ शिराबाट काम शुरु गरौ । अब नयाँ मूल्यको आधारमै ठेक्का लाग्छ । यसअघि कतिपय आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ, त्यस्ता ठेक्का तोडिन्छन्,” अर्थमन्त्री महतले भने,“काम हुन नसकेका आयोजनाको काम रोकिन्छ । ठेक्का बिसर्जन गरौं ।”

काम सम्पन्न भइसकेका आयोजनामा बिल बनिसकेको अवस्थामा अर्थमन्त्रालयले भुक्तानी नरोकेको पनि स्पष्ट पारे ।