नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे सरकारको प्रश्न


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले निफ्रामाथि प्रश्न उठाएका हुन् । निफ्राको प्रगतिका विषयमा मुख्य सचिव अर्यालको असन्तुष्टि थियो ।

उनले नियमित रहेका वाणिज्य बैंकहरूले मात्रै पूर्वाधार क्षेत्रमा लगानी नपुग्ने भएकाले निफ्रा जस्ता बैंकहरू स्थापना गरिएको बताए । निफ्राले उद्योग क्षेत्रमा लगानी कति गर्‍यो र लगानीको प्रभावले उद्योग क्षेत्रमा पारेको असरको विषयमा अध्ययन गर्न आवश्यक देखिएको बताए ।

उनले भने,“अर्को सरकारले औद्योगिक क्षेत्रको विकासका लागि वित्तीय कुराहरू हुन् । निजी क्षेत्रले सधैँ भन्ने गरेको करको कारण विकास गर्न सकिन भन्ने छ । करको कारण मात्रै होइन । यसमा वित्तीय र गैरवित्तीय धेरै कुराहरु छन् । नेपाल पूर्वाधार विकास बैंक(निफ्रा) स्थापना गरियो । निफ्राको लगानी उद्योग क्षेत्रमा कता पुग्यो होला भन्ने मलाई लागेको छ ।”

मुख्यसचिव बैकुण्ठ अर्याल

मुख्य सचिव अर्यालले पछिल्लो समय बैंकको ब्याजदरको विषयमा धेरैको ध्यान गएको भन्दै राष्ट्र बैंकले स्प्रेड र पोलिसि रेट घटाएकाले बिस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने अवस्था देखिएको बताए ।

उनले सरकार र निजी क्षेत्रबीच नियमित छलफल गरी निजी क्षेत्रको वास्तविक समस्या यकिन गरी सरकारलाई प्रष्टसँग राख्न सक्नुपर्ने बताए । सार्वजनिक क्षेत्रले मात्रै गरेर मुलुकमा औद्योगिक विकास हुन नसक्ने उनको भनाई थियो ।

सरकारको भुमिका सहयोगी वातावरण निर्माण गरी आवश्यक सेवा सुविधा र पूर्वाधार तयार पार्ने काम भएको भन्दै मुख्य सचिव अर्यालले २०४९ सालमा गरिएका औद्योगिक सुधारका ऐनहरु, औद्योगिक नीति र वाणिज्य नीतिमा सुधार गरेको बताए ।

पछिल्लो ३० वर्षमा सरकारले पनि औद्योगिक क्षेत्रको विकासमा गेमचेन्जिङ हिसावले काम गर्न नसकेको उनको भनाई थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले औद्योगिक क्षेत्रको पूर्वाधार विकासको लागि नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) स्थापना गरेको तर निजी क्षेत्रले यी संस्थाहरुसँग समन्वय गरेर काम गर्न नसकेको बताए ।

निफ्राले पनि औद्योगिक क्षेत्रको विकासका लागि कति लगानी गर्‍यो भन्ने विषय पनि हेर्न आवश्यक रहेको उनको भनाई थियो ।