नेपालको निर्यात ८.६५ प्रतिशतले घट्यो


काठमाडौँ । नेपालको कुल वैदेशिक व्यापार घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार ०.६६ प्रतिशतले घटेको हो ।

नेपालले गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ बराबरको व्यापार गरेको थियो भने चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेपालले १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बराबरको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात गरेको थियो । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १.५६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यात भने घटेको छ । निर्यात ८.६५ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो ।