पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदसँग आग्रह


काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको स्वीडीस सांसदहरुको टोलीसँग नेपाल पर्यटन बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले दुवै देशबिच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका लागि लागि आग्रह गरेका हुन् ।

उनले नेपाल लामो समय देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसंग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकोले त्यसबारेमा पहल गरिदिन सांसदहरुलाई आग्रह गरे ।

‘नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो । धेरै युरोपियनहरु नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहन्छन । तर सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन सकिरहेको छैन् । हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्र्दभमा युरोपियन आकाशको प्रतिवन्ध हटाउन यहाँहरुको भूमिका महत्वपूर्ण रहन सक्छ । त्यसो भयो भने स्वीडेनका तर्फबाट नेपालीका लागि ठूलो उपहार हुने छ , उनले भने ।

डा. रेग्मीले स्वीडेन डेभलपमेन्ट कोअपरेशसन एजेन्सिज (सिडा) सँग नेपालको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि समेत आवश्यक समन्वयका लागि टोलीसंग आग्रह गरे ।

भेटका अवसरमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समय देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गर्दै यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आवश्वासन दिए । यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने बताए ।

स्वीडेनका लागि नेपाली महावाणिज्यदूत मौषमी श्रेष्ठले स्वीडेनका सांसदहरुको यो भेटवार्ताले नेपाल र स्वीडेनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए भने सन् २०२३ को जनवरी देखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।