होसियार भई चेक जारी गर्न राष्ट्र बैंककाे आग्रह


काठमाडौ । पछिल्लो समय चेकको दुरुपयोग बढेको हुनाले होसियार भई चेक जारी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।

मंगलबार वित्तीय चेतनाको लागि एक सूचना जारी गरी राष्ट्र बैंकले गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै होसियार भई चेक जारी गर्न अनुरोध गरेको छ ।

पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तिय संस्थामा रहेको रकमको कारोबारको लागि चेक भरपर्दो उपकरण हो । विनिमेय अधिकारपत्र ऐन, २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (पछिल्लो संशोधन २०७४)ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमयपत्रका रुपमा व्याख्या गरेको छ।

‘चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्ने जनाएको छ ।

जारी सूचनामा राष्ट्र बैंकले भनेको छ, ‘खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिनेजस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ।’