‘राष्ट्र बैंकले संशोधन गरेको चालू पुँजी कर्जा मार्गदर्शनले अर्थतन्त्र चलायमान बनाउन सहज हुँदैन’


काठमाडौँ । नेपाल उद्योग तथा व्यवसायी महासंघले राष्ट्र बैंकले संशोधन गरेको चालू पुँजी कर्जाले अर्थतन्त्र चलायमान बनाउन सहज नहुने जनाएको छ ।

महासंघले आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौतीका विषयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्र बैंकले संशोधन गरेको चालू पुँजी कर्जाले अहिलेको अवस्थामा कर्जा प्रवाह भएर अर्थतन्त्र चलायमान बनाउन सहज हुने नदेखिएको उल्लेख गरेको हो ।

चालू पुँजी कर्जा संशोधनले उद्योग क्षेत्रलाई केही राहत भएको तर नेपालमा उद्योग र वाणिज्य क्षेत्र सँगसँगै जोडिएर आउने भएकोले वाणिज्य क्षेत्रलाई पनि सोही बमोजिमको व्यवस्था गर्नको लागि माग गरेको छ ।

महासंघले नीतिगत व्यवस्था एवम् अवरोधपूर्ण कार्यमा सुधार ल्याइ देशको अर्थतन्त्र चलायमान बनाएर अहिलेको स्थितीबाट निकास दिन नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायत राज्यका सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि ठोष कदम नचाले चरणबद्धरुपमा विरोधका कार्यक्रमहरु सहित आन्दोलन गर्ने जनाएको छ ।

यस्तै, महासंघले राष्ट्र बैंकले जारी गरेको कर्जाको जोखिम वर्गीकरण गर्नुपर्ने व्यवस्था हटाउन माग गरेको छ । यसले उद्योगी व्यवसायीलाई हतोत्साही बनाउनु सँगै वित्तीय संस्थाको खराब कर्जा बढ्ने र देशको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने उल्लेख गरेको छ ।

कुनै एक व्यवसायी समुहको एक ऋणी खराब सूचीमा परेमा उक्त समुहमा रहेका सबै साझेदार खराब ऋणीमा वर्गीकरण हुने राष्ट्र बैंकको व्यवस्थाले आगामी दिनमा देशमा उद्यम व्यवसाय वातावरण खस्किएर जाने र उद्योगी व्यवसायी पलायन हुने अवस्था भएका कारण यस्तो व्यवस्था हटाउन महासंघले माग गरेको छ ।