नेपाल ईभी अन्तराष्ट्रिय एक्सपो सम्पन्र, अवलोकनकर्ताको उपस्थित उत्साहजनक


काठमाडौँ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आज (आइतबार) समापन भएको छ ।

यही (शुक्रबार) भदौ १५ देखि (आइतबार) १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयाेजना भएकाे उक्त प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सवलिकरण गर्ने रहेको एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले जानकारी दिए ।

सापकोटका अनुसार विगतदेखि नै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हरेक वर्ष पेट्रोलियम सवारीको एक्सपो गरे पनि ईभी शो को आयोजना त्यतिधेरै नभएकाले यसवर्षदेखि विभिन्र संघ संस्थाहरू मिलेर इभी एक्सपाे आयाेजना गरेको बताएका छन् ।

उनले भने, “पछिल्लो समय विद्युतीय सवारी साधनको बढ्दो प्रयोग र यसले वातावरणलाई पारेको सकारात्मक पक्षलाई नियाल्दै हामीले इभी एक्सपोको आयोजना गरेका हौं । जसले गर्दा पक्कैपनि उक्त एक्सपोले कुनै न कुनै किसिम्मले सकारात्मक प्रभाव पर्ने छ ।”

साइकलदेखि गाडीसम्मको प्रर्दशन

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीले आयोजना गरेको उक्त एक्सपोमा हरेक वर्गको लागि उपयुक्त हुने सवारीको प्रर्दशनी गरिएकाे थियो ।

प्रदर्शनीमा विद्धुतिय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चारजिङ्ग स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको व्यवसायमा संलग्न कम्पनीहरू सहभागिता रहेको थियो ।

संयोजक सापकोटले आर्थिक मन्दीले अटो क्षेत्रलाई धरासायी बनाएको बेला सवारीको बुकिङ नहुने अपेक्षा राखेता पनि मेलामा उपस्थित रहेको सवारीको राम्रै बुकिङ भएको दाबी गरे ।

उनले भने, “त्यति धेरै उत्साहजनक हुदैँन हाेला भनेर हामीले धेरै ब्रान्डहरूकाे सहभागिता गराएनाैँ र मेला आयाेजनामा हामीले त्यति ठूलो खर्च पनि गरेका थिएनाैँ । प्रति स्टलको पाँच हजारसम्म दिएका थियौँ तर अवलाेकनकर्ता र सवारी बुकिङकाे गर्ने जमात राम्रै भएकाे पाइयाे ।”

इभी लन्चदेखि सवारी खरिदमा छुटसम्म

तीन दिनसम्म आयोजना भएको उक्त एक्सपोमा करिब १० वटा जति सवारी साधनको स्टल रहेको कम्पनीले जनाएको छ । जसमा मेलाको अवसर पारेर कम्पनीले आफ्ना सवारी साधनमा विशेष छुटदेखि कम्पनीले ल्याएकाे नयाँ सवारी साधन सार्वजनिक समेत गरेका थिए ।

त्यही क्रममा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा मेलाकाे पहिलाे दिन सार्वजनिक गरिएकाे थियो । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहीकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले उक्त गाडी नेपालमा भित्र्याएको हो ।

‘ट्रीयो झोर डीभी’ एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान भएको कम्पनीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त नयाँ गाडी सार्वजनिक गरेका थिए ।

मेलामा एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स कम्पनीले जेस्टिस् ब्राण्डको स्कूटरको खरिदमा २० हजार रुपैयाँ छुट दिइएको थियाे । कम्पनीका अनुसार एक्स्पो अवधिभर स्कूटर खरिदमा उक्त अफर रहने र बजारमा जेस्टिस् स्कुटर सिङगल र डबल ब्याट्रीमा उपलब्ध छन् ।

कम्पनीले सिङगल ब्याट्री जडान भएको ईभी स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेकाे छ भने डबल ब्याट्री भएको ईभी स्कुटरलाई ४ लाख १० हजार रुपैयाँ पर्ने जनाएकाे छ ।

त्यस्तै, पिनाकल मोटरराड कम्पनीले पनि इलेक्टिक स्कूटरको खरिदमा नगद छुटको अफर दिएकाे थियाे । कम्पनीका अनुसार, यो ब्राण्डको स्कूटर नेपाली बजारमा चारवटा मोडलमा उपलब्ध छन् ।

कम्पनीले ई ३ वान ब्याट्री मोडलको स्कुटरको मूल्य दुई लाख ४९ हजार, ई ३ टू ब्याट्री मोडलको स्कुटरको मूल्य ३ लाख ३४ हजार, ई ४ वान ब्याट्री भएको मोडललाई ३ लाख १४ हजार र ई ४ ब्रिङ मोडलको मूल्य ३ लाख ९ हजार रुपैयाँ तोकेको छ ।

मेला अवधिभर यी सबै मोडलको स्कूटर खरिद गर्दा १० देखि २० हजार रुपैयाँसम्म कम्पनीले छुट दिएकाे थियाे । कम्पनीले बीमा तथा बैंक फाइनान्सको पनि सुविधा उपलब्ध गराएको बताएको छ ।

यस्तै, क्रिन्क भी १ मोडलको ईभी स्कुटरमा खरिदमा पनि ३० हजार छुटको अफर रहेको कम्पनीले बताएको छ । उक्त स्कूटरको मूल्य २ लाख ८५ हजार तोकिएको भए पनि एक्स्पो अफरमा २ लाख ५५ हजार रूपैयाँमै उपलब्ध गराएकाे थियाे ।

त्यस्तै ईभी एक्सपोमा हेनरीको मिनीकार मोडल एचको २२ लाख रुपैयाँमा सार्वजनिक भएको थियो । नेपालमा पायोनियर वल्र्डवाइड प्रा.लिले सो मिनीकार नेपाली बजरमा बिक्री–वितरण गर्दै आएको छ । ३५ किलोवाटको मोटर र १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मिनी कारले सिंगल चार्जमा १८५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । ४ जना बस्न मिल्ने ५ ढोके सो मिनी कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्विलबेस २४४० एमएम रहेको छ ।

सिटीमा फुल एसीमा १२५ देखि १५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। कम्पनीले हाल ब्याट्रीमा ५ वर्षको वारेन्टी दिएको छ। सो कारको मूल्य २४ लाख ५० हजार रुपैयाँ भए पनि यसमा मेला अवधिभर १ लाख ५० हजार छुट समेत उपलब्ध रहेकाे थियाे । त्यस्तै कम्पनीले रातो, निलो, कालो, हरियो, खैरो, सेतो जस्ता कलरमा उपलब्ध हेनरी मिनी कारको मूल्य २४ लाख ५० हजार तोकिएको कम्पनीले जनाएको छ ।

मेलाको अपेक्षा र उद्देश्य

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय इभी एक्सपोको मुख्य उद्धेश्य विद्युतीय सवारी साधनको प्रवद्र्धन र आम नागारिक माझ विद्युतीय सवारी साधनको फाइदाबारे चेतना फैलाउने रहेको आयोजकले जनाएको छ ।

एक्सपोका संयोजक सापकोटका अनुसार पछिल्लो समय विद्युतीय सवारी साधनको मोह आम नागरिकमा बढ्दै गएकाले यसको विषयमा आम नागरिकलाई सजिल्लो तरिकारले बुझाउनको लागि पनि यो मेला आयोजना गरिएको बताए ।

उनले भने, “देशको व्यापार घाटामा रहेकाे बेला पेट्रोलियम पर्दाथको लागि खर्बै रकम बाहिर गएकाले नेपालमा नै उत्पादन भएको बिुजलीको खपत गरेर नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । त्यो कारणपनि मेलाले अगामी दिनमा विद्युतीय सवारीको प्रोत्साहन गर्न कोसेढुङ्ग सावित गर्ने छ ।”

त्यस्तै आयोजकका अनुसार मेलामा अपेक्षा भन्दा पनि बढी अवलोकनकर्ताहरूको उपस्थित रहेको छ । तीनदिनसम्म आयोजना भएको उक्त मेलामा प्रत्येक दिन १५ हजारभन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको जनाएको छ ।

५०० वटा चार्जिङ स्टेसन निर्माणमा सरकारको तयारी

‘नेपाल ईभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ५०० वटा चार्जिङ स्टेसन निर्माणलाई अभियानको रूपमा अघि बढाउने तयारी गरेको बताएका थिए ।

ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ थियाे ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् । सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उनको दाबी छ ।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तयार गरेको र संघीय संसद्‍मा पेस हुने चरणमा रहेको उनले बताए ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर्एफएचाइ तीन सय ६० रहेका थिए । साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको थियाे ।