कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिँचाइ हो : मन्त्री भुसाल


काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा। वेदुराम भुसालले नेपालको कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिँचाइ रहेको बताएका छन् । काठमाडौँँमा मुक्तिनाथ कृषि कम्पनीले आफ्नो पाँच वर्षे रणनीतिक योजना “भिजन २०८५” को विषयमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताएका हुन् ।

मन्त्री भुसालले ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिँचाइ हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिँचाइ हुने अवस्था रहेको बताउँदै सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताए । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम सुरू गरेको उनले बताए ।

भुसालले कृषि नेपालको लागि मेरुदण्ड रहेको भन्दै उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका कार्यकारी निर्देशक भरतराज ढकालले नेपालको कुल क्षेत्रफलको करिब २३ प्रतिशत भू-भाग तराई, ४२ प्रतिशत पहाड र ३५ प्रतिशत हिमाल क्षेत्रले समेटेको बताउँदै सरकारले कृषि क्षेत्रलाई प्रथामिकता दिन आवश्यक रहेको बताएका छन् ।

उनले नेपालको कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटेको कृषि क्षेत्रमा ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेकोले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियान मार्फत कृषककाे उत्पादनलाई बजारसम्म सहज भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनको रूपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताए । उनले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत् कानुनी संरचनाको व्यवस्थापन हुने बताए । उनले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताए ।

उनले जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गरेका थिए । उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रुपमा सकी नसकेको उल्लेख गरे । अर्थतन्त्र कमजोर बन्नुमा उत्पादन र रोजगारीको प्रमुख समस्या रहेको बताए । अर्थतन्त्रका समस्यालाई समाधान गर्न कृषि क्षेत्र नै नेपालका लागि एकमात्र माध्यम बन्नसक्ने बताए ।