‘केही सहकारीहरू ऐन र कानुन अनुसार संचालन नहुदाँ सिंगो सहकारी क्षेत्र नै समस्यामा पर्यो’


काठमाडौँ । भूमि व्यवस्था सहकारी गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केही सहकारीहरू ऐन र कानुन अनुसार संचालन नहुदाँ सिंगो सहकारी क्षेत्र नै समस्यामा परेको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव दुवाडीले सरकारले राज्यको तीन खम्बे अर्थ नीतिकाे रूपमा हेरेको सहकारी क्षेत्र मूल्य मान्यता अनुसार संचालन नहुदाँ देशको अर्थतन्त्र नै धरापमा परेको बताएका हुन् । उनले भने, “सरकारले सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेको छ भने सहकारी स्व :नियमन, स्व :नियन्त्रणमा छाडेको छ । जसले गर्दा उनीहरूले गलत ठाउँमा लगानी गरेको छन् । त्यसकारण त्यस्ता सहकारीलाई नियमनको दायारमा ल्याउन सरकारले पहल गरेको छ । ’’

उनले गाउँठाउँमा संचालन भएका सहकारीले किसानको दैनिक जीवनस्तर उकास्नको लागि भूमिका निर्वाह गर्दै आएको बताएका छन् । उनका अनुसार गाउँठाउँका सहकारीले किसानको लागि उन्नत जातका विउविजन वितरण गर्नदेखि उत्पादनलाई सहज बजारीकरण गर्नको लागि पहल गरेको छ ।

” राज्यको तीन खम्बे अर्थ नीतिकाे रूपमा रहेको सहकारीलाई सुधार गर्नको निम्ती सरकारले पहल गरेको छ । सरकारबाट पनि विगतमा केही कमीकमजोरी भएका होलान् । सहकारीमा भएका केही कुरालाई अझैपनि समाधान गर्न सकेको छैनाैँ तर सरकार यसकाे समाधानमा गर्न लागि परेकाे छ” उनले भने ।

उनले सहकारीलाई यस्ता संकटबाट जोगाउनको लागि केन्द्रिय महासंघदेखि नफेस्कुनले आफ्नो आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नको लागि आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थाले देशको अर्थतन्त्रमा योगदान दिदैँ आएको जनाएका छन् । उनले सहकारीले आम नागरिकको जीवस्तरमा परिवर्तन गर्नको लागि अहम भूमिका निर्वाह गर्नुका साथै किसानको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि साथ दिदैँ आएको बताए । उनले भने, ‘केही सहकारी संस्थाको गलत नियतका कारण अन्यत्र लगानी गर्दा आज सबै सहकारीमा नराम्रो छापा बसेको छ । त्यसकारण यसकाे सुधारको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ‘।

अध्यक्ष कँडेलले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारलाई सहि काम गर्ने सहकारीलाई प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका कार्यकारी निर्देशक मनोज खड्काले सहकारी पत्रकार समाजसँग सहकार्य गरेर सहकारी क्षेत्रको सुधार गर्न तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।