पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी, यस्तो छ मूल्य


काठमाडौँ । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक पासमाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभी र एमजि ४इभी सार्वजनिक गरेको छ ।

लन्चमा कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्राउन पाउँदा कम्पनी अत्यन्तै उत्साहित भएको बताएका छन् । उनले स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरू अत्यन्तै उपयुक्त हुने बताए ।

एमजी कमेट इभी भारतमा बनेको गाडी हो जसले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी रहेको छ । यसमा १७३ किलोआवर को ब्याट्री र ३१।२६ किलोवाटको मोटर छ। यसमा यात्रुको सुरक्षाका लागि आईपी सिक्स सेभेन रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टि पार्किङ् सेन्सर र सिट बेल्ट राखिएको कम्पनीले जनाएको छ ।

यस्तै एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटर जस्ता सुविधा छन्। एमजी कमेट इभीको शुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो इभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ।

कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको र हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएकाे छ ।

यस्तै एमजी ४ कम्फर्ट इभीको शुरुवाती मूल्य ४१ लाख ४९ हजार र एमजी लक्जरी इभीको शुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ किलोवाट आवर र मोटर ९९ किलोवाटको हो।

त्यस्तै एमजी लक्जरी इभीको ब्याट्री क्षमता ६४ किलोवाट आवर र मोटर १५० किलोवाटको हो। एमजी ४ इभीको मुख्य आकर्षण इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो। एमजी ४ इभी २०२३ को युके कार अफ द इयर भएको गाडी हो। यसले युरोपमा पनि सेफ्टीका लागि ५ स्टार पाएको छ।

एमजी ४ इभीले सिंगल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। राम्रो ह्यान्ड्लिङ र ट्र्याक्सनका लागि एमजी ४ इभीमा रियर व्हिल लेआउट राखिएको छ। त्यस्तै यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर छन्।

त्यस्तै एमजी ४ इभीका लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्ष र हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी छ। दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपालभर एसि र डिसी गरेर १९ वटा चार्जिङ स्टेशन उपल्बध रहेको छन् भने २०२३ को अत्य सम्ममा पारामाउन्ट मोटर्सले देशभर ५० सम्म पुर्याउने लक्ष्य राखेको छ ।