चार वर्षसम्म रोकिएको ‘नाडा अटो शो’ आजदेखि सुरु हुदैँ


काठमाडौँ । कोभिड १९ को महामारी र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण करिब चार वर्षसम्म हुन नसकेको ‘नाडा अटो शो’ आजदेखि सुरु हुने भएको छ । १५ औँ संस्करणको वृहत् नाडा अटो शो आज (मंगलबार)देखि काठमाडौँको भृकुटीमण्डपको प्रर्दशनी केन्द्रमा हुँदैछ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरू रहने छन्। नाडाका अनुसार प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय वाण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका कर्मशीयल गाडी, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपदिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू साने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शोमा २०२३ मा लगभग ७५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ। यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको नाडाले जनाएको छ ।

प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । त्यस्तै मेलाको उद्धघाट भने अर्थमन्त्री प्रकाशशरण महतले गर्ने छन् ।