सवारी साधनलाई विलासिता वस्तुको वर्गीकरणबाट हटाउनुपर्छ : अध्यक्ष थापा


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी साधनलाई विलासिता वस्तुको वर्गीकरणबाट हटाउनको लागि अर्थमन्त्रीलाई अग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै थापाले करिब एक लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी, १ खर्वभन्दा बढी राजस्व बुझाउनेदेखि ३ खर्वको लगानी भएको क्षेत्रलाई बिलासिताको वस्तुबाट हटाउन अर्थमन्त्रीसँग आग्रह गरेका हुन् । उनले भने, ‘चाडबाडलाई मध्यनजर अटो सो गर्दै आएका छौं । कोभिडले केही वर्ष अटो सो गर्न सकिएन । यो पटक ठूलो मेलाका रूपमा अटो सो गर्दै छौं, यो बेला वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुनेछ ।’

थापाले कोभिड १९ र सरकारले सवारी साधनमा लगाएको प्रतिबन्धका कारण करिब तीन वर्षको अवधिपछि सुरू भएको मेलाले पक्कै पनि देशको अर्थतन्त्र सुधारको निम्ती अहम भूमिका निर्वाह गर्ने बताए । थापाले सरकारले विद्युतीय गाडीमा आफ्नै नीति विपरित हरेक वर्ष कर बढाउने गरेको बताएका छन् । उनले सवारी कर्जाको जोखिम भार ७५ प्रतिशत नै कायम गर्न पनि अर्थमन्त्रीलाई अनुरोध गरे ।

थापाले सरकारले बजेट ल्याउँदा सडक पूर्वाधारका लागि अर्वौं रकम छुट्याएको र सडकमाथि गुड्ने सवारीलाई भने तल्लो स्तरमा राखेर बजेट र नीति तथा कार्यक्रम ल्याउने गरेको आरोप लगाएका छन् । उनले भने, “यसका लागि हामीले सरकारलाई बारम्बार भेटेर भनेका पनि छौँ तर सरकार बेखबर भएर बस्ने गर्छ । यसको लागि सरकारको ध्यान जान आवश्यक छ ।’’