शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो।

‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब समस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ। यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १५ पुगेको छ।