विदेशमा रहेका नेपाली ३० लाख हाराहारीमात्र!


काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले आप्रवासी नेपालीको संख्या २२ लाख ३५ हजार भएको तथ्य निकालेको छ । यसले विदेशको भूमिमा रहेका नेपालीको संख्याबारेको अन्योललाई चिरेको छ ।

आईओएमद्वारा हालै सार्वजनिक विश्व आप्रवासन प्रतिवेदन-२०२२ अनुसार भारतमा सबैभन्दा धेरै ७ लाख ३३ हजार ७३४ र त्यसपछि मलेसियामा ५ लाख ८५ हजार ८६४ जना नेपाली आप्रवासीहरू छन् ।

यसैगरी, साउदी अरबमा ५ लाख ३ हजार ७०४, कतारमा २ लाख ५३ हजार ९४० र अमेरिकामा १ लाख ७६ हजार ६४२ नेपाली छन् ।

आईओएमले यी प्रमुख ६ मुलुकमा २२ लाख ३५ हजार ३९४ आप्रवासी नेपाली रहेको देखाए पनि यूएईसहितका गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)का अन्य सदस्य देशहरू तथा जापान, दक्षिण कोरिया, युरोपसहितका देशमा करिब १० लाख नेपाली रहेको आकलन छ ।

नेपाल बाहिर करिब २७ लाख नेपालीः विश्व बैंक

विश्व बैंकको आप्रवासन तथा रेमिट्यान्स डेटा पोर्टलले पनि विदेशमा रहेका नेपालीको संख्या २६ लाख ८७ हजार ९९२ जना मात्र रहेको उल्लेख गरेको छ । बैंकको द्विपक्षीय आप्रवासनको सन् २०२१ को तथ्यांकअनुसार सबैभन्दा धेरै भारतमा ७ लाख ३३ हजार ७३४ जना नेपाली आप्रवासीहरू रहेका छन् ।

यस्तै, मलेसियामा ५ लाख ८५ हजार ८६४ जना, साउदी अरबमा ५ लाख ३ हजार ४०४ जना, कतारमा २ लाख ५३ हजार ९४०, अमेरिकामा १ लाख ७६ हजार ४६२, अष्ट्रेलियामा १ लाख ३१ हजार ८३०, बेलायत (यूके)मा ६६ हजार नेपाली छन् ।

यो डेटाबेसअनुसार दक्षिण कोरियामा ४० हजार ७४८ नेपाली छन् भने बंगलादेशमा समेत ३८ हजार ३०१ जना नेपाली छन् । विश्व बैंकको डेटाबेसले ६२ देशमा नेपालीहरू रहेको देखाएको छ ।

प्रत्येक वर्ष औसतमा ५ देखि ७ लाखसम्म नेपाली बिदेशिने गरेकोमा उताबाट फर्किने पनि उल्लेख्य संख्यामा हुने गरेका कारण विदेशको भूमिमा नेपालीको संख्या ३० लाख हाराहारीमा देखिएको हो ।नेपाली आप्रवासीहरूको आप्रवासनसँगै देश फर्कने प्रक्रिया पनि उल्लेख्य रहेको आईओएमले जनाएको छ ।

१२ लाख बिदेशिँदा १० लाख फर्कन्छन्

विगत चार वर्षमा नेपालबाट बाहिरने र स्वदेश फर्कनेको तथ्यांक हेर्दा रोजगारी, अध्ययन, घुमफिरका लागि औसत १० देखि १२ लाखले नेपाल छाड्दा ८ देखि १० लाख नेपाल फर्कने गरेको पाइएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०२२ मा विभिन्न प्रयोजनका लागि कुल १४ लाख २९ हजार ५४६ जना नेपाली विदेश प्रस्थान गरेकोमा १० लाख ३६ हजार ८८६ जना स्वदेश फर्केका थिए । गत आर्थिक वर्ष २०७९/८०मा कामका लागि ७ लाख र अध्ययनका लागि १ लाख नेपालीले नेपाल छाडेकोमा करिब ६ लाख नेपाली घुमफिर र अन्य प्रयोजनका लागि नेपालबाट बाहिरिने गरेको यो विवरणले देखाउँछ ।

यसैगरी सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ जनाले नेपाल छाडेकोमा ५ लाख ८७ हजार ८२ जना स्वदेश फर्केका थिए भने सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना बिदेशिएकोमा ४ लाख ९१ हजार ४४८ जना स्वदेश फर्किएका थिए । कोभिड-१९ महामारीपछि विश्वव्यापी यात्रा प्रतिबन्धको असरले नेपाल छाडने र नेपाल भित्रने नेपालीको संख्यामा कमी आएको हो ।

सन् २०१९ मा १३ लाख ७५ हजार ७०२ जना नेपालबाट बिदेशिएकोमा १२ लाख ५२ हजार २३६ जना स्वदेश फर्किएका थिए । यो हवाई माध्यमबाट नेपालबाट विदेश जाने र फर्कनेकोमात्र संख्या हो ।

नेपालमा झन्डै ५ लाख विदेशी

विश्व बैंकको डेटा पोर्टलअनुसार नेपालमा ४ लाख ८७ हजार ५६४ जना विदेशी आप्रवासी छन् । जसमध्ये सबैभन्दा धेरै भारतका ४ लाख २६ हजार ९४१ जना, भुटानका २७ हजार ५०२ जना, चीनका १९ हजार ४२८ जना, पाकिस्तानका १ हजार २१२, बंगलादेशका २२२‌, श्रीलंकाका ४२, अन्य दक्षिणी (अदर साउथ) देशका ११ हजार ५९० र अन्य उत्तरी देशका ६२६ जना छन् ।