अर्थमन्त्रालयले स्थानीय तहमा दुई महिनासम्म रकम निकासा गरेन


काठमाडौँ। अर्थमन्त्रालयले आर्थिक वर्ष २०७९/८० को असार महिनाको बाँकी अवधिको र चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ महिनाको रकम निकासा नगरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अर्थमन्त्रालयलाई लेखेको पत्रमा कानुन अनुसार प्रदेश र स्थानीय तहमा जाने राजस्व बाँडफाँट अनुसारको रकम अर्थ मन्त्रालयले रोकेको उल्लेख गरिएको छ ।

पत्रमा निकासा गरिसक्नुपर्ने रकम कानुनी व्यवस्था र अघिल्लो आर्थिक वर्षसम्म हरेका महिनाको ४ गतेभित्र निकासा गरिसकिएको अभ्यास रहेकेो उल्लेख गरिएको छ ।

रकम निकासा नहुँदा स्थानीय सरकारका दैनिक कार्यसम्पादन र विकास निर्माणमा प्रभाव परेको उनको भनाइ छ ।

कानुनले नै स्पष्ट निर्देशित गरेको वित्तीय हस्तान्तरण जस्तो विषयमा समेत ढिलाई हुनुले वित्तीय संघीयताको कार्यान्वयनमा नै शंका उत्पन्न भइरहेको पत्रमा उल्लेख गरिएको छ ।