टोखा नगरपालिकामा प्रथम कर सप्ताह अभियान शुरु


काठमाडौँ । टोखा नगरपालिकाले आइतबारदेखि शनिवारसम्म प्रथम कर सप्ताह अभियान शुरु गरेको छ ।

आइतवार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान शुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।

उनले नगरपालिकाले नगरपालिका भित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन आकर्षित गरी कर शिक्षा दिनु मुख्य उद्देश्य रहेको बताए । उनले गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड कर संकलन गरेको बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । उनले ३० करोड राजश्व उठाउने लक्ष्य अनुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान शुरु गरेको बताए । स्थानीय जनतालाई कर किन तिर्ने,कहाँ तिर्ने,किन तिर्नपर्छ, व्यवसाय कहाँ दर्ता गराउने जस्ता विषयमा कर शिक्षा दिएर सचेता बनाउन चाहेको उनले बताए ।

टोखा नगरपालिकाले सोमवारदेखि बिहीवार तीन दिन करदाताहरूको घरदैलोमा गएर करदाता शिक्षा प्रदान गर्ने भएको छ । कर सप्ताह २०८० को नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार रहेको छ । १८ गते टोखा नगरपालिकाका सामुदायिक र सरकारी विद्यालयहरूमा नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने नगरपालिकाले बताएको छ ।