सोमबार विश्व बसोबास दिवस मनाइँदै, २०५० सम्म शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण


काठमाडौँ । सरकारले विश्व बसोवास दिवस–२०८० मनाउने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले विश्व बसोवास दिवसको अवसरमा कार्यशाला गोष्ठीको आयोजना गरी विश्व बसोवास दिवस २०८० मनाउन लागेको हो।

‘समृद्धि एवं पुनःलाभयुक्त शहरः उत्पादनशील अर्थतन्त्रको आधार’ भन्ने मुल नारासहित विश्व बसोवास दिवस मनाउन लागेको हो। नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमवार विश्व बसोवास दिवस मनाउँदै आएको छ।

पत्रकार सम्मेलनमा बोल्दै विश्व बसोवास दिवस २०८० मुल तयारी समितिका संयोजक सह–सचिव दिलिप भण्डारीले विश्वमा जनसंख्याको ७९ प्रतिशत मानिसहरू शहरी क्षेत्रमा बसोवास गर्ने गरेको बताए।

उनले अहिलेकै अवस्थामा शहरमा बसोवास गर्ने मानिसहरूको दरले निरन्तरता पाए सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको पनि बताए। उनले काठमाडौँ उपत्यकामा शहरीकरणको चाप बढ्दै गएको बताए।

सरकारले अब शहरहरूलाई आर्थिक अवसरको केन्द्रको रूपमा विकास गरी आत्मनिर्भर शहरी विकासमा जोड दिन जरुरी रहेको पनि बताए।

पछिल्लो समय रोजगारीको अवसर शहरी क्षेत्रमा हुने भएकाले शहरमा बसोवास गर्ने आउने मानिसहरू रोक्न सक्ने अवस्था नभएको भण्डारीले बताए।