आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन


काठमाडौँ । आजदेखि चाडवाड लक्षित सहुलियत मूल्य पसल सुरू भएको छ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वलाई मध्यनजर गरी नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

जसमा काठमाडौँ उपत्यका र बाहिर गरी ८३ बिक्री स्थल रहनेछन् । काठमाडौँ मा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।

काठमाडौँ बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

त्यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका हो ।

उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेलमा प्रतिकिलो प्रतिलिटर ७ रुपैयाँ र कर्णालीको सिमी, फापर, चिनो, कागुनो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् ।

काठमाडौँ उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु, सतुंगल, कालीमाटी, पाटन, जडीबुटी सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।