इजरायलमा झण्डै ५ हजार नेपाली रहेको सरकारी तथ्याङ्क, १२ जना सम्पर्कविहीन


काठमाडाैँ । सरकारले इजरायलमा हाल झण्डै ५ हजार नेपाली रहेको भन्दै युद्धबाट प्रभावितको उद्दार र अवस्था एकिन गर्न संयन्त्र स्थापना गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीबारे जानकारी गराएका हुन् । मन्त्री साउदका अनुसार हाल ४५ सय नेपाली केयरगिभरका रुपमा कार्यरत छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत गएका थिए ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलको किंबुज अनुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली राजदूतावासका अनुसार उक्त स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समुहबाट गम्भीर आक्रमण भएको छ ।

उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको मन्त्री साउदको भनाई छ । उनले भने,“बाँकी १२ जना मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।”

संयन्त्र स्थापना

इजरायलमा हमास समूहको आक्रमणलाई नेपाल सरकारले गम्भीरताकासाथ लिएको परराष्ट्रमन्त्री साउदको भनाई छ ।

आक्रमणपछि नेपालीको अवस्थाबारे जानकारी लिन आज विहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा सबै रोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको परराष्ट्र मन्त्री साउदले जानकारी दिए ।

उनले भने,“यस संयन्त्र घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।”

इजरायलको दक्षिणी भूभागमा भएको भयानक आक्रमणका बारेमा जानकारीमा आए लगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवं उनीहरुको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरिएको मन्त्री साउदको भनाई छ ।

उनले भने,“परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षितरुपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिइसकेको छ ।”

नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकहरुको उपचारका लागि पहलकदमी लिइरहेको उनको भनाई छ ।

संसद बैठकमा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसंग आवश्यक समन्वय र सहजीकरणको कार्य भैरहेको पनि बताए ।

नेपाली समय अनुसार हिजो विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले आक्रमण सुरु गरेको थियो ।

हालसम्म यस आक्रमणबाट सयौंको संख्यामा मृत्य र घाइते भएका तथा केही मानिसहरूलाई हमास समूहले अपहरण तथा बन्धक बनाएका समाचारहरू आइरहेका छन् ।