चाडपर्वमा गाडी बेच्न कम्पनीहरू बिच प्रतिस्पर्धा, यस्ता छन् अफरहरू


काठमाडौँ । नेपालीको महान पर्व दशैं, तिहार नजिकैँ गर्दा अटोमोबाइल्स क्षेत्रमा पनि रौनक थपिएको छ । कोभिड -१९ को महामारीदेखि आर्थिक मन्दीका कारण करिब तीन वर्षजति नाजुक अवस्थाबाट गुज्रिएको उक्त क्षेत्र यस वर्ष भने केही रौनक देखिएकाे छ ।

प्रत्येक वर्ष दशैं अघि आयोजना गरिने नाडा अटो शो अर्थात सवारी कुम्भ मेला करिब तीन वर्षपछि मात्रा आयोजना गरियो जसले गर्दा अटोक्षेत्रलाई थोरै भएपनि राहत भयो । आर्थिक मन्दीकाे बाबजुद पनि आयाेजना गरिएकाे नाडा अटो शाे मा ग्राहकहरूकाे छुट्टै खालकाे रौनक देखियो । ग्राहकहरूले मेलामा नै गएर नयाँ सवारीको विशेषता बुझनेदेखि बुकिङ गरे जसले गर्दा तीन वर्षसम्म सुस्ताएको अटो बजारमा खुसियाली थप्यो ।

प्राय अटाे क्षेत्रका व्यवसायीको लागि दशैँ तिहार व्यापार हुने सिजनको रूपमा लिइन्छ । मानिसहरूको मानसिकतामा दशैँ तिहार भनेको नयाँ वस्तुको खरिद गर्नेको भन्ने छ। नाडाले पनि व्यापार व्यवसायलाई बढाउनको लागि दशैं, तिहार, छठ अघि अटो शो गर्दै आएको छ ।

नेपालमा अटो क्षेत्रमा झण्डै ३० देखि ४० प्रतिशत कारोबार यो समयमा हुने नाडाको अनुभव छ । नाडाका अध्यक्ष ध्रुव थापा भन्छन, “तीनवर्षसम्म यो क्षेत्रमा केही उल्लास भएन् कतिपय कम्पनीहरूले आफ्ना शोरुम बन्द गराए भने कतिपयले कर्मचारी निकाल्न पर्ने अवस्था सिर्जना भयो तर अहिलेको मेलाले चाडपर्वमा हुने व्यापार उत्साहपूर्ण रहने छ ।

चाडपवर्ककाे अवसरमा मात्रै करिब ५० देखि ६० प्रतिशत व्यवसाय हुने नाडाले जनाएको छ । सवारी साधनको बिक्री बढाउन र आफ्नो ब्रान्डलाई दरिलो तरिकाले स्थापित गराउनको लागि कयाैँ कम्पनीहरूले विभिन्न छुट तथा अफरहरू सार्वजनिक गर्ने गरेका छन् । करिब तीनवर्षसम्म सुस्ताएको अटो क्षेत्रको व्यापार यस वर्षको चाडपर्वमा केही सुधार हुने व्यवसायीकाे अपेक्षा छ ।

चाडपर्व लक्षित यस्ता छन् विभिन्न ब्रान्डका अफरहरु :

टाटा मोटर्सः

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडा दसैँ बडा अफर’ ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

हुन्डाईः

हुन्डाईले चाडपर्व विशेष ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत हुन्डाईको जुनसुकै गाडी खरिदमा ६ लाखसम्मको नगद छुट उपलब्ध हुने कम्पनीले जनाएकाे छ । त्यस्तै स्क्र्याच कार्डमार्फत थप एक लाखसम्म नगद छुट प्राप्त गर्न सकिनेछ।

कम्पनीले उपलब्ध गराएको योजना लागू हुने अवधिभर गाडी खरिद गर्दा एक वर्षको सवारी बीमा र सडक कर पनि निःशुल्क हुने जनाएको छ भने बम्परमा लक्की ड्रमार्फत हुन्डाई एक्स्ट्रिम जित्ने मौका दिएको छ।

निसानः

निसानले ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत गाडी खरिद गर्दा १३ लाख ७५ हजार दुई सय २६ रूपैयाँसम्मको फाइदा उपलब्ध गराउने जनाएको छ। कम्पनीले नगदमा ८ लाखसम्मको छुट समेत दिनेछ। त्यस्तै एक वर्षको निःशुल्क इन्स्योरेन्स र एक वर्षको सडक कर पनि निःशुल्क हुने योजनामा उल्लेख छ।

सुजुकीः

चाडपर्व विशेष सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले पनि नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले आइतबार ‘सुजुकी पर्वोत्सवः मनाऔं यो दशैं-तिहार सुजुकी एसयुभीको साथ सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत ग्राहकहरूले गाडी खरिदमा एक लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् भने एक्सचेन्जमा पनि एक लाखसम्म बोनस प्राप्त गर्न सक्नेछन्। यसबाहेक गाडीको एक वर्षको इन्स्योरेन्स निःशुल्क हुने कम्पनीले जनाएकाे छ । एसयुभी सेगमेन्टमा सुजुकीका गाडीहरूले पनि प्रतिस्पर्धात्मक बजार लिइरहेको छ।

होन्डाः

चाडपर्व विशेष होन्डाले ‘यस पटकको दशैं होन्डा कारसँगै’ नारासहित दसैं-तिहार अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत होन्डाको कुनै पनि मोडलको गाडी खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । त्यस्तै २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिन्छ।

कम्पनीका अनुसार ५ वर्षको लागि निःशुल्क सर्भिसिङ पाउन सकिनेछ भने दुई वर्षको वारेन्टी प्राप्त गर्न सकिन्छ। ग्राहकले एक वर्षको लागि सडक करमा पनि छुट प्राप्त गर्न सकिन्छ। यसबाहेक कम्पनीले सहज फाइनान्सिङ उपलब्ध गराउने जनाएको छ भने विभिन्न सर्प्राइज उपहार र निःशुल्क एसेसरिजहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

रेनोः

नेपाली बजारमा रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले पनि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘शुभ कार-रम्भः चाडपर्वको शुभ सुरूवात, गरौं रेनोको साथु योजना अन्तर्गत ग्राहकहरूलाई गाडी खरिदमा ७ लाखसम्मको फाइदा उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले योजना अवधिमा गाडी खरिद गर्दा एक वर्षको सडक कर निःशुल्क गरिने बताएको छ। त्यस्तै दुई वर्षको लागि निःशुल्क सर्भिसिङ प्रदान गर्नेछ। कम्पनीले गाडी खरिदका लागि सहज फाइनान्सिङ पनि उपलब्ध गराउने जनाएको छ भने एक्सचेन्ज अफर पनि उपलब्ध गराएको छ।

फोटोनः

‘दशैंको महिना, हात खाली हुने छैन’नारासहित फोटोन मोटर नेपालले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले योजना अवधीभर गाडी खरिद गर्दा ‘स्यर-सट’ उपहार प्राप्त गर्न सकिने पनि जनाएको छ। यस योजनअन्तर्गत बम्पर उपहार विजेता एक जनाले थाइल्यान्ड भ्रमण र एक जनाले बाली भ्रमणको अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । त्यस्तै तीन जना भाग्यशाली विजेताले मोबाइल फोन, एक जनाले टेलिभिजन, दुई जनाले फ्रिज र दुई जनाले वासिङ मेसिन प्राप्त गर्न सक्नेछन्।

चेरी नेपालः

चाडपर्व विशेष चेरीको गाडी खरिदमा पनि योजनाहरू पाउन सकिन्छ। कम्पनी भदौ अन्तिम सातादेखि नै ‘चाडपर्व अफर’ अन्तर्गत योजना सार्वजनिक गरेको हो। योजनअनुरुप गाडी खरिद गर्दा ग्राहकले ५ लाख ८९ हजार रूपैयाँसम्मको फाइदा पाउन सक्नेछन्। त्यस्तै गाडी खरिदमा ४ लाख ५० हजार रूपैयाँसम्मको छुट पाउन सक्ने बताइएको छ।

यसबाहेक खरिदपछि तीन वर्षसम्मको लागि सर्भिसिङ निःशुल्क हुनेछ भने ३ वर्षको वारेन्टी समेत घोषणा गरेको कम्पनीले जनाएकाे छ ।

फक्सवागनः

चाडपर्व विशेष फक्सवागनले पनि योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘फक्सवागन फ्याबुलस फेस्टिभ अफर’ अन्तर्गत चाडपर्व विशेष विदेश घुम्ने अवसरदेखि छुट सार्वजनिक गरेको छ। कम्पनीले गत असोज २ गतेदेखि नै यो अफर सुरू गरेको हो।

योजनाअन्तर्गत ग्राहकहरूले बम्परमा ५ दिन युरोपको बर्लिन भ्रमण गर्ने अवसर पाउने बताइएको छ। साथै विद्युतीय स्कुटर नियुको एमक्युआई प्लस स्पोटर्ट र एप्पल म्याकबुक एयर समेत प्राप्त गर्ने अवसर रहेको छ।

फक्सवागनको गाडी खरिदमा २ लाख २५ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। यससँगै चार वर्षको लागि निःशुल्क सर्भिसिङ प्राप्त गर्न सकिनेछ। साथै एक वर्षको सडक कर र एसेसरिजहरू पनि निःशुल्क हुने योजनामा उल्लेख छ। कम्पनीले ७ वर्षको लागि वार्षिक १०।९९ प्रतिशत ब्याजमा गाडी खरिद गर्न सकिने सुविधा पनि दिने बताएको छ।

जिडब्लुएमः

नेपालमा जिडब्लुएमको सवारी साधनको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले चाडपर्व विशेष गाडीहरूको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ। कम्पनीले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गत असोज १२ देखि सुरू गरेको हो। यो असोज १८ सम्म आयोजना हुँदैछ।

योजनाअवधिमा ग्राहकहरूले गाडी खरिदमा ७ लाखसम्मको नगद लाभ पार्न सक्नेछन् भने एक्सचेन्ज बोनसहरू, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्।

सिजी मोटर्सः

दशैं- तिहार विशेष सिजी मोटर्सले पनि योजनाहरू सार्वजनिक गरेको छ। कम्पनीले ‘नेटा भी डिक्की फुल अफर’ अन्तर्गत नेटा भी खरिद गर्ने ग्राहकहरूको लागि छुट र उपहारहरूको व्यवस्था गरेको छ।

यस योजनअन्तर्गत नेटा भी खरिद गर्दा सिजीको ४३ इन्चको ४के स्मार्ट टिभी, ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको रातो भ्याक्युम कप र सिजीको ५०० मिलिलिटरको भ्याकुम फ्ल्यास बोटर प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

साथै ६।६ किलोवाट आवरको चार्जर, टायर सेट पनि निःशुल्क प्राप्त गर्न सकिनेछ। ग्राहकले नेटा भी खरिदमा एक वर्षको लागि निःशुल्क इन्सुरेन्स र सडक कर पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। यसबाहेक विभिन्न नगद छुट र एक्सचेन्ज अफर पनि दिने जनाएको छ।

सिजी मोटर्सले यसबाहेक ‘दशैं र तिहार इभीमा टिभी उपहार’ योजनअन्तर्गत ग्राहकहरूले विद्युतीय भ्यान खरिदमा सिजीको ४३ इन्चको स्मार्ट एलइडी र ब्ल्याक एन्ड डेकरको प्रेसर वासर प्राप्त गर्न सक्नेछन्। त्यस्तै गाडी खरिदमा एक वर्षको निःशुल्क बीमा र एक वर्षको सडक कर निःशुल्क हुने बताइएको छ। साथै, ६।६ किलोवाटआवटरको चार्जर पनि निःशुल्क प्राप्त गर्न सकिनेछ।

एमजीः

चाडपर्व विशेष एमजीले ‘एमजी ड्राइभ्स फेस्टिभ भाइब्स’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले दुई लाखसम्मको नगद फाइदा पाउन सक्नेछन्।

कम्पनीको यो योजना असोज २ गतेदेखि सुरू भएको छ भने मंसिर ४ गतेसम्म लागू हुनेछ। सो अवधिमा एमजीको गाडी खरिद गर्ने ग्राहकहरूले निःशुलक स्पेयर टायर पनि पाउनेछन् भने ७ किलोवाटको एसी चार्जर पनि निःशुल्क पाउने बताइएको छ। यसबाहेक कम्पनीले एक वर्षको लागि इन्स्योरेन्स पनि निःशुल्क हुने बताएको छ।

यसरी कम्पनीहरूले उपलब्ध गराउने योजनाहरूमा केही सर्तहरू भने लागू हुने जनाएको छ। विभिन्न कम्पनीले दिएको योजनाबारे कम्पनीलाई सिधैं सम्पर्क गर्न सकिने समेत जनाएको छ।

स्कोडा:
नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु एक्स पान्जेले दशैं-तिहार चाडपर्वलाई लक्षित गरी स्कोडाफाइभ स्टार अफर ल्याएको छ । जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउनेछन् । स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङझैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउने जनाएको छ ।

ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८।९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स दिने र यसले हरेक यात्रालाई तनावरहित बनाउने जनाइएको छ ।
आइशर:
आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको छ । कम्पनीले उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन “सोचेझैं दशैं तिहार, रोजेझै उपहारः सुनको बहार, बम्परमा कार” दशैं तिहार स्कीमको घोषणा गरेको हो ।

यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नु हुनेछ । उल्लेखित उपहारहरु बाहेक चालकलाई रू। पाँच लाख र रू। पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।