अन्तराष्ट्रिय उद्यमी सम्मेलन-२०२३ सम्पन्न


काठमाडौँ । काठमाण्डौँमा अन्तराष्ट्रिय उद्यमी सम्मेलन -२०२३ सम्पन्न भएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली उद्यमीहरूको भेलालाई परराष्ट्रमन्त्री एनपी साउदले सम्बोधन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले आइतबार बेलुकी गरेको सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीले नेपालमा लगानी भित्राउनका लागि महत्वत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

अब विदेशमा रहेका नेपालीहरू पनि सक्षम भएको भन्दै लगानी भित्राएनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । उनले भने,“अब नेपालीहरू पनि सक्षम भएका छन् । उनीहरूले नेपालमा लगानी भित्राउनका लागि सकारात्मक सन्देश प्रवाह गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।”

नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपाल बर्बाद भयो भन्ने सन्देश दिनु गलत भएको बताए । उनले अहिले नकारात्मक धारणा फैलिरहेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । उनले भने,“अहिले हामी एकदमै नकारात्म वहसतिर गइरहेका छौँ । नकारात्मक बहस गरेर सकारात्मक परिणामको आशा गर्न सक्दैनौँ ।”

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले विश्वमा छरिएका नेपालीको सम्पति नेपालको कुल जिडिपी भन्दा ५ गुणा धेरै रहेको भन्दै यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा लगानी गर्न केही कानुनी समस्या रहेको बताए । उनले भने,“विगतमा विदेशमा रहेका नेपालीको लगानीलाई पनि प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत राखिएको थियो । अहिले केही समस्या हल भएको छ । अझै कतिपय कानुनी अवरोध छ यसको समाधान गर्नुपर्छ ।”

महासंघका अध्यक्ष स्वातन्त्र प्रताप शाहले विश्वभर छरिएर रहेका नेपाली उद्यमीलाई संगठित गर्न संस्था गठन गरिएको बताए । उनले नेपालमा लगानी गर्न आफूहरू तयार रहेको भन्दै यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए ।

उनले भने,“विश्वभर छरिएर रहेका नेपाली उद्यमी नेपालमा लगानी गर्छ चाहन्छन् । पुँजी,सीप, प्रविधि सबै हामी लगानी तयार छौँ यसका लागि सरकारले वातावरण बनाउँदै जानुपर्छ ।”