२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो, कृषि विकास र माछापुच्छ्रे बैंकले लगानी गर्ने


काठमाडौँ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ ।

आज (सोमबार) भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरि अधिकारी, विश्व बन्धु भट्टराई, माछापुच्छ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवडा र सिभिल इन्जिनियर प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो । यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्बर ७ र ८ को ठूलो खोला निर्माणधिन भइरहेको छ ।

अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् । २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भएपनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भइरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ ।

टक्सार पिखुवा हाइड्रोपावर विगत २ वर्ष अगाडि नै सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।