चाडपर्वलाई लक्षित गर्दै दुध तथा दुधजन्य पदार्थको मूल्यमा छुट


काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) लगायत विभिन्न निजी डेरि संस्थाहरूले आउँदै गरेको दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी दुधका परिकारमा छुट दिएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध पदार्थ दूध, पनिर, दही, नौनी, बटर, घिउ, मिठाई चिज, फ्रेस मिल्कको मूल्यमा छुट दिएकाे हाे । संस्थानले सहुलियत मूल्यमा २५० रुपैयाँसम्म छुट पाइने जनाएको हो ।

संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरूमा छुटको घोषणा गरेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानले उत्पादन गरेका वस्तुहरू आम उपभोक्तालाई सहुलियत दरमा दिने निर्णय गरिएको मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् ।

नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साविकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइन्छ ।

याक र कञ्चन चिजमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । छुटसँगै अब यी उत्पादनको मूल्य क्रमशः आधा किलोकै ९१० रुपैयाँ र ७६० रुपैयाँ कायम गरिएको छ । ११ सय रुपैयाँ प्रतिकिलो पर्ने नौनीको मूल्य ५० रुपैयाँ छुट दिएर एक हजार ५० रुपैयाँ नयाँ मूल्य तोकिएको छ । रसबरी, पेडा र लालमोहन प्रतिबट्टा १० रुपैयाँ छुट दिएर २८० रुपैयाँ मूल्य तोकिएको छ । रसबरी क्यानमा १५ रुपैयाँ छुट दिएर ४०५ रुपैयाँबाट घटाएर ३९० रुपैयाँ कायम गरिएको छ ।

टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । डीडीसीले उत्पादन गर्ने २५० ग्रामको उक्त बटरको मूल्य छुटपछि ३५० रुपैयाँ कायम भएको छ । जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । १९० रुपैयाँ प्रतिलिटर मूल्यको दही अब १७५ रुपैयाँमा पाइने भएको छ । यस्तै, पोली दहीमा प्रतिलिटर १४ रुपैयाँ छुट दिइएको छ । १७० रुपैयाँ प्रतिलिटरको दही अब १५६ रुपैयाँमा पाइन्छ । प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुटपछि २०० रुपैयाँ मूल्य कायम गरिएको छ ।

फ्रेस मिल्क २ सय एमएलको उत्पादनमा ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँबाट ७० रुपैयाँ कायम गरिएको छ । यस्तै, याक नौनी प्रतिकिलोमा २५० रुपैयाँ छुट दिइएको छ । १ हजार २५० रुपैयाँ प्रतिकिलो पर्ने याक नौनीको मूल्य छुट पछि एक हजार रुपैयाँ तोकिएको छ ।