२२ प्रतिशतले बढ्यो रेमिट्यान्स, घट्याे श्रमस्वीकृति लिनेकाे संख्या


काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१को पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले बढेर २२८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष सोही अवधीमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।