दुई महिनामा विद्यार्थीसँगै विदेशियो २३ अर्ब रुपैयाँ


काठमाडौँ । चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो दुई महिनामा नै विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले २३ अर्ब ३२ करोड रुपैयाँ लगेका छन् । यो गत वर्षको समान अवधिभन्दा लगभग दोब्बर हो ।

गत वर्षको पहिलो दुई महिनामा शिक्षाका लागि १२ अर्ब ७६ करोड रुपैयाँ नेपालबाट विदेशिएको थियो भने गत आर्थिक वर्ष २०७९\०८० भरिमा शिक्षाका लागि नेपालबाट १ खर्ब ४ अर्ब २३ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपालबाट अध्ययनका लागि विदेशिने विद्यार्थीहरूको संख्या व्यापक रूपमा बढेसँगै अध्ययनका लागि शुल्क र अन्य महसुलबापत यहाँबाट पैसा विदेशिने क्रम बढेको हो ।

विदेशी विद्यार्थीले भित्र्याए सवा अर्ब

शिक्षाका लागि नेपालबाट रकम विदेशिएकोमात्र नभइ नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो दुई महिनामा १ अर्ब २८ करोड रुपैयाँ नेपाल भित्र्याएका छन् । गत आर्थिक वर्ष२०७९\८० मा विदेशी विद्यार्थीले ४ अर्ब ६ करोड रुपैयाँ भित्र्याएका थिए ।