मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित


काठमाडौँ । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ ।

विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताए ।

उनले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए ।

समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको सुवेदीको भनाइ छ । उनले आयोजनाको वातवरण मूल्याङ्कन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको बताए ।

उनले नेपालका कानूनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने बताए ।

उनले मुक्तिनाथ केबलकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताए । उनले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उल्लेख गरे ।

उनले वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिर्पोट आइसकेको बताए । उनले मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने बताए ।

उनले मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहने बताए । सुवेदीले मुक्तिनाथ जाँदा सडक खतरायुक्त,हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने बताए । आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै उनले ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जाने बताए ।
त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केवलकार परियोजना बनाउन चुनौति र समस्या भएपनि आफूहरु सक्षम रहेको बताए ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ ।

कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाई ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रश्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।