नेपाल वायुसेवा निगमले तीनवटा जहाज किन्न बोलपत्र आह्वान


काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । नेवानीले तीन वटा जहाज खरिद गर्न सार्वजनिक सूचना जारी गरेर टेण्डर आह्रान गरेको हो ।

दुर्गम क्षेत्रमा उडान भर्नका लागि नयाँ जहाज खरिद गर्न लागेको निगमले जनाएको छ । आज २२ अक्टुबरमा खुलाइएको टेण्डरको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराएका थिए।