नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा


काठमाडौँ । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १२ बल अगावै चार विकेटको क्षतिमा पुरा गरेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र अर्का ब्याट्सम्यान कुशल मल्लले आक्रामक ब्याटिङ गरे । भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाउदा मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रनको योगदान दिए ।

त्यसअघि मलेसियालाई १६५ रनमा रोक्ने क्रममा अविनाश बोहराले ४ विकेट लिएका थिए ।