ढिलाे नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न राष्ट्रसंघका महासचिवको आग्रह


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ढिलाइ नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।

आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले आफूले प्रस्ताव गरेको ‘एक्सलरेसन एजेन्डा’लाई प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले भने,“ सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ ।”

उनले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक रहेको बताए । महासचिव गुटरेसले भने,“ विकसित देशहरूले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ ।”

महासचिव गुटरेसले जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति आफू चिन्तित रहेको बताए ।

उनले संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा रहेको उल्लेख गरे । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायु सम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिने महासचिव गुटरेसको भनाई थियो ।