तीन महिना भित्र १ सय ३३ देशबाट विभिन्न वस्तुको आयात, युद्धग्रस्त युक्रेनबाटै रू.४ अर्बकाे आयाे


काठमाडौँ । नेपालले तीन महिना भित्र १ सय ३३ देशबाट विभिन्न वस्तुको आयात गरेको छ ।

आयातमा निर्भर हुँदै गएको नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै विभिन्न १ सय ३३ देशबाट ४ खर्बभन्दा बढीको सामान आयात गरेको भन्सार विभागको तथ्याङ्मा उल्लेख छ ।

युद्धग्रस्त युक्रेन नै नेपालले वस्तु आयात गर्ने चौथो मुलुक हो ।

नेपालले सबैभन्दा धेरै सामान भारतबाट २ खर्ब ५० करोड ६१ लाख १० हजार २ सय रुपैयाँको सामान आयात गरेको छ भने चीनबाट ७९ अर्ब ८२ लाख २० हजार ५ सय ५० रुपैयाँको सामान आयात भएको छ ।

भारत र चीन नेपालको मुख्य व्यापारिक साझेदार मुलुक हुन् । यी दुबै मुलुकसँग नेपालको व्यापार घाटा समेत ठुलो छ । नेपालले सामान आयात गर्ने मुलुकमध्ये युएई तेस्रोमा छ ।

पछिल्लो तीन महिनामा नेपालले युएईबाट ९ अर्ब ३ करोड २४ लाख ८ ७२ हजारको सामान आयात गरेको छ ।

युक्रेनबाट ४ अर्ब ७३ करोड २४ लाख २१ हजारको सामान आयात भएको छ । यस्तै मलेसिया नेपालले आयात गर्ने पाँचौ मुलुक छ जहाँबाट ४ अर्ब ५८ करोड १२ लाख १३ हजारको सामान आयात भएको छ ।

नेपालले चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब भन्दा बढीको सामान आयात भएको छ ।