तारा एअरका पाइलटबिच झगडा : रामेछाप विमानस्थल प्रमखु समेत निलम्बनमा


काठमाडौँ । नागरिक उड्यन प्राधिकरणले रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ ।

आज बिहान तारा एअरका क्याप्टेनबिच भएको कुटपिटको विषयलाई लिएर प्राधिकरणले एअरपोर्ट प्रमुखलाई समेत निलम्बन गरेको हो ।

प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि एअरपोर्ट प्रमुखलाई समेत निलम्बन गरिएको जनाएको छ ।

नागरिक उड्यन प्राधिकरणले भनेको छ,“रामेछाप विमानस्थल परिसरमा तारा एयरका दुई वरिष्ठ क्याप्टेनबीच आज भएको विवादको विस्तृत अनुसन्धान गर्न रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ ।”

तारा एयरका वरिष्ठ क्याप्टेन सञ्जीव श्रेष्ठ र सन्तोष साहबिच बिहान रामेछाप विमानस्थलमा झगडा भएको थियो । झगडापछि प्राधिरकणले दुबै पाइलटको लाइसेन्स निलम्बन गरेर उडानमा रोक लगाएको छ । गम्भीरता नदेखाएको भन्दै विमानस्थल प्रमुख थापालाई पनि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।