गोदावरी फूल मेलामा पूर्व रानी कोमल, यस्तो छ दरवारसँग फ्लोरिकल्चरको सम्बन्ध


काठमाडौँ । शुक्रवार पूर्व बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाहले अवलोकन गरेकी छन् ।

मंगलवारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन अबलोकन सँगै पूर्व रानी कोमलले गोदाबरी फूलका बिरुवाहरू खरिद गरेकी छन्।

परिवारका सदस्यहरूसँगै पूर्वरानी कोमलले मेलामा सबै स्टलहरूको चासो सहित अवलोकन गर्दै व्यवसायीसँग फूलसम्बन्धी जानकारी लिएकी छिन्।

नेपालमा पुष्प व्यवसायको सुरुवाती चरणदेखि राजपरिवारको भूमिका रहेको पाइन्छ । मेलामा पूर्व रानीको आगमनले पुष्प व्यवसायमा लाग्ने व्यवसायीलाई हौसला प्रदान गरेको फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका अध्यक्ष मिन बहादुर तामाङले बताए।

नेपालमा राजतन्त्र रहेका बेला पुष्प मेलाको उद्घाटन महारानीले गर्ने प्रचलन थियो । फ्लोरिकल्चर एसोसिएसनको संरक्षकका रुपमा राजसंस्था रहेको थियो।

तत्कालीन समयमा लामो समय रानी ऐश्वर्य र पछि कोमल शाह संरक्षक थिइन् । राजतन्त्रको अन्त्य तथा गणतन्त्र स्थापना भएपश्चात भने एसोसिएसनले सरकारी निकायसँग मिलेर आफ्नै तरिकाले मेला आयोजना गर्दै आएको छ ।

मेलाको सुरुको तीन दिनसम्म ५२ लाख बढीको कारोबार भएको छ भने २१ हजार बढीले मेला अवलोकन गरिसकेका छन् ।

मेलामा सर्वसाधारणको उपस्थिति दैनिक रुपमा बढिरहेको छ । जावलाखेलमा जारी गोदावरी मेला शनिवारसम्म चल्नेछ ।

तस्बिरः दिपक गाउँले