उद्धारमा परिचालित वायुसेवा निगम र नेपाली सेनाको हवाई इन्धन आयल निगमले बेहोर्ने


काठमाडौँ । जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च नेपाल आयल निगम लिमिटेडले बेहोर्ने घोषणा गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल वायुसेवा निगम र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको रकम बेहोर्ने बताएको हो।

उक्त रकम आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।