गोदावरी मेला सम्पन्न, सवा करोडको कारोबार, ४५ हजारले गरे अवलोकन


काठमाडौँ । ललितपुरको जावलाखेलमा गोदावरी फूल मेलामा १ करोड १७ लाख बढीको फूल तथा पुष्पजन्य सामग्रीको कारोबार भएको छ ।

गत मंगलवारदेखि हिजो (आइतवार) सम्म चलेको मेलाको ४५ लाख बढीले अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

उपभोक्ताको माग अनुसार शनिवारसम्मका लागि आयोजना गरिएको मेला आइतवारसम्म लम्बाइएको थियो । करीब ४० लाखले अवलोकन गर्ने र १ करोडको कारोबार हुने पूर्वानुमान अनुसार मेला प्रभावकारी बनेको अध्यक्ष मीन बहादुर तामाङले बताए।

आइतवार मेलामा टिकट विक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।

एसोसिएसन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको थियो भने सेवा कोकोपिटले प्रयोजन गरेको थियो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका थिए ।

पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाह, बहालवाला मन्त्री, सांसद, राजनीतिक दलका नेता, सरकारी उच्च पदस्थ अधिकारी लगायतले अवलोकन गरेका थिए ।

एसोसिएसनले हरेक वर्ष तिहार अगाडि ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक मेला आयोजना गर्दै आएको छ । यो वर्ष मेलाको १६ औँ संस्करण हो।