भारतले गर्याे १६ करोड बराबरको राहत सामग्री सहयाेग, भूकम्प प्रभावित क्षेत्र पठाइयो


काठमाडौँ । छिमेकी मुलुक भारतले गत कात्तिक १७ गते जाजरकोट केन्द्र रहेको भुकम्पबाट पीडितको लागि रु १६ करोड (भारु १० करोड) बराबरको राहत सागग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

भुकम्पपछि प्रधानमन्त्री मोदीले घोषणा गरेको पहिलो चरणको राहत सामग्री नेपाल पठाइएको हो । भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आइतवार नेपाल पुगेको हो ।

राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री कर्णालीका मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्ण बहादुर खड्कालाई गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बाँकेले भारतले उपलब्ध गराएको राहत सामग्री शाेमवार विहान प्रभावित क्षेत्रमा पठाइएकाे जनाएको छ। सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल ६२५ थान, स्लिपिङ १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट (ठूलो खालको ) ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री ( ४८ प्रकार) केही कार्टून रहेको प्रशासन कार्यालयले जनाएको छ।

आगामी दिनमा राहत सामग्रीका थप राहत सामग्री नेपाल पठाउने तयारी भइरहेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ । “घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध छ,” दूतावासले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो । असल छिमेकीको नाताले यस पटकको भूकम्पको समयमा पनि पहिलो सहायता गर्ने मुलुकको रुपमा भारतले सहयोग गरेको भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले बताएका छन्।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरुको पुनर्निर्माण कार्यमा सघाएको थियो।