लघुवित्तबारे राष्ट्र बैंकको निष्कर्ष : १० ओटा भए पुग्छ, आकार एवं भौगोलिक उपस्थिति महत्वपूर्ण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाकाे कुल संख्या भन्दा संस्थाको आकार एवं भौगोलिक उपस्थिति उचित हुने निष्कर्ष निकालेको छ ।

अध्ययन प्रतिवेदनले हालको अवस्थामा कति संस्थाहरू सञ्चालनमा रहन सक्छन भन्ने आधारमा बजारले आफैले निर्धारण गर्न सक्ने भए पनि आकार र उपस्थितिमा जोड दिएको हो ।

प्रतिवेदनमा भनिएको छ,“ कति संस्था भन्नेतर्फ भन्दा कुन जिल्ला, स्थानीय तह वा क्षेत्रमा कस्तो आकारको कति शाखा छन भन्नेतर्फ ध्यान दिनु जरुरी छ । हालको अवस्थामा कति संस्थाहरू सञ्चालनमा रहन सक्छन भन्ने आधारमा बजारले आफै पनि कति संस्था अधिकतम हो भनी निर्धारण गर्न सक्छ ।”

बजारमा सबै लघुवित्त वित्तीय संस्थाहरूको समान हिस्सेदारी हुने अवस्थामा १० वटा लघुवित्त वित्तीय संस्थाहरू हुँदा समेत प्रतिस्पर्धात्मक अवस्थामा कमी नआउने प्रतिवेदनमा भनिएकाे छ ।

“भौगोलिक वितरणमा सन्तुलन ल्याउने हो भने बजार हिस्सा सीमित संस्थाहरूमा केन्द्रीकृत नहुन सक्छ,” प्रतिवेदनमा भनिएको छ ।

लघुवित्त वित्तीय संस्था सुरपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले भने यसलाई निष्कर्ष नै भन्न नसकिने बताए । उनले भने, अध्ययनका क्रममा यस्तो देखिएको हो, अध्ययन अनुसार नै हुन्छ भन्ने छैन ।

लघुवित्त व्यवसाय गरिब, पिछडिएका, दुर्गम एवं सर्वसाधारण, वित्तीय सेवाको पहुँचमा पर्न नसक्ने वर्गका लागि वित्तीय मध्यस्थकर्ताको भूमिकाभन्दा बाहिर गएर विशिष्टिकृत सेवा दिने संस्था भएपनि विचलित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,“ लघुवित्त संस्थाको शाखाको अनुचित वितरण, सीमित जिल्ला र अन्य वित्तीय संस्था भएकै स्थानमा अधिकेन्द्रित हुनु एवं लघुवित्त सेवाका ग्राहक पहिचानमै समस्या आई लक्ष्यबाट बिचलित हुनु जस्ता समस्या देखिएका छन् ।”

सबै स्थानीय तहको वडासम्म लघुवित्त सेवा बिस्तार गर्ने तथा पालिकाको जनसंख्या, कर्जाको अवस्था, आर्थिक गतिविधी, भौगोलिक विकटता जस्ता सूचकका आधारमा पालिका स्तरमा आवश्यक लघुवित्त वित्तीय संस्थाका शाखा संख्या र कार्यक्षेत्र तोक्न सकिने भनिएको छ ।

तर यसप्रकार संख्या तोक्दा अर्थतन्त्रको गतिशीलतासँगै लघुवित्त बजारको अवस्था हेरी यस्तो नीतिलाई समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,“यसबाट लघुवित्त सेवाको पहुँच पनि बढ्नेर अति प्रतिस्पर्धाको स्थिति पनि नआउने हुन सक्दछ ।”

नेपाल राष्ट्र बैँकले लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधानका लागि कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा समिति बनाएको थियो ।

पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरूका सम्बन्धमा सरोकारवालाहरू, अन्य पक्षहरू तथा विभिन्न सञ्चार माध्यममार्फत विभिन्न समस्याहरू उठेपछि नेपाल राष्ट्र बैंकले सञ्चालक समितिले २०७९ फागुन १० गते अध्ययन समिति गठन गरेको थियो ।