सरकारको राजस्व संकलन लक्ष्यभन्दा १९ प्रतिशत कम


काठमाडौं । देशभित्र आर्थिक गतिविधि कमजोर हुँदा त्यसको प्रत्यक्ष असर सरकारको राजस्व परिचालनमा परेको छ । अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व उठेको छ ।

आयकर लक्ष्यभन्दा २९ प्रतिशत उठेको, आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क ११.५ प्रतिशत कम उठेको तथा आन्तरिक उत्पादन, बिक्री तथा सेवा तर्फको मूल्य अभिवृद्धिक कर ५ प्रतिशत कम उठ्नुले आर्थिक गतिविधि कमजोर भएको संकेत गरेका छन् ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्म २ खर्ब ८९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारले लक्ष्य राखेकोमा २ खर्ब ३४अर्ब ५७ करोड रुपैयाँमात्र राजस्व उठेको छ ।

सरकारलाई सबैभन्दा ठूलो धक्का भन्सार राजस्व संकलनमा परेकाे छ । आयात प्रतिबन्ध फुकुवा गरिएपछि देशको बाह्य व्यापारमा सुधार हुने र त्यसबाट पर्याप्त भन्सार राजस्व संकलन हुने आशा राखेको अर्थमन्त्रालयले लक्ष्यभन्दा ३५ प्रतिशत कम भन्सार राजस्व संकलनको मार खेपेको छ ।

अर्थमन्त्रालयले असोजसम्म ७६ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४९ अर्ब ६३ करोड रुपैयाँमात्र उठेको छ । जबकी पहिलो त्रैमासिक अवधिमा देशको आयात गत वर्षको सोही अवधिका तुलनामा १.७ प्रतिशतले बढेको छ । आयात झिनो अंकले बढे पनि भन्सार असुली घटेको छ ।

भन्सारपछि अर्को धक्का मूल्य अभिवृद्धि कर (भ्याट) मा लागेको छ । भ्याट असोज मसान्तसम्म सरकारको लक्ष्यभन्दा १८.४१ प्रतिशत कम उठेको छ । सरकारले पहिलो त्रैमासिक अवधिमा ८४ अर्ब ६९ करोड रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य राखेकोमा ६९ अर्ब ९ करोड रुपैयाँमात्र उठेको छ ।

यस्तै, अन्तःशुल्कतर्फ ३८ अर्ब ३५ करोड रुपैयाँ संकल‌न गर्ने लक्ष्य राखिएकोमा ३४ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ भने आयकरतर्फ ६३ अर्ब ६२ करोड रुपैयाँ संकल‌न गर्ने लक्ष्य राखिएकोमा ४५ अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ ।

लक्ष्यअनुसार राजस्व नउठेपछि पहिलो त्रैमासिक अवधिमा नै संस्थानहरूबाट लाभांश, बक्यौतासहितको अन्य प्राप्ति शीर्षकबाट सरकारले १५ अर्ब ४५ करोड रुपैयाँ चलाएको छ ।

ऋण उठाएर खर्च चलाइँदै

संकलित राजस्वले सरकारको नियमित प्रशासकीय खर्चसमेत धान्न नसक्ने अवस्था आएपछि सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिबाटै ऋण उठाउन थालेको छ । असोज मसान्तसम्म सरकारले आन्तरिक ऋणबाट ९७ अर्ब ३१ करोड रुपैयाँ उठाएको छ भने बाह्य ऋणबाट ९ अर्ब ४७ करोड रुपैयाँ गरि पहिलो त्रैमासिक अवधिमा नै १ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ ऋण उठाइएको छ ।

योसँगै असोज मसान्तसम्म देशको तिर्न बाँकी खूद ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जसमध्ये तिर्न बाँकी वैदेशिक ऋण ११ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गाहर्थ्य उत्पादन जीडीपीको ४५ प्रतिशत हो ।