विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

हालको विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।