चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिने बताएका छन् । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार चिकित्सा शिक्षा आयोग १२ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिना तथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको उनले बताए ।

प्रधानमन्त्रीले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबिचको अन्तरसम्बन्धको आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीहरूकाे आकर्षण र देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए ।

‘‘हाल उत्पादन भएका जनशक्तिहरूका लागि सम्मानजनक रोजगारीका अवसर सुजना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनका अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको छ ।,’’ उनले भने, ‘‘यसका साथै जनशक्ति उत्पादन वृद्धिमात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य छ ।’’

तीन वर्षयता मापदण्ड नपुगेका नर्सिङ कलेजहरू बन्द गरिएसँगै आवश्यक स्वास्थ्य जनशक्तिको आकलन र सोहीअनुसारको उत्पादन हुनुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।