अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ: अर्थमन्त्री डा. महत


काठमाडौँँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएको अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् ।

भक्तपुरमा भएको एक कार्यक्रममा मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे ।

“हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ,” मन्त्री डा. महतले भने, “जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् । दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ । ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन ।”

अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको उनले बताए ।