मनकामना केबुलकार हाताभित्र रिसोर्ट निर्माण हुँदै


काठमाडौँ । लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।

कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको बताएको छ । ‘२५औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।

२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ÷असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरिरहेको जनाएको छ ।

साथै सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । हाम्रो भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान कम्पनीको छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने पनि प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य कम्पनीको रहेको छ ।